काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ। मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चीन सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि बन्द गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी निर्वाचन आयोगका एक उच्च अधिकारीका अनुसार, सीमामा ७२ घण्टाअघि आवागमन बन्द गरिनेछ।
बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयोगका सचिव कृष्णबहादुर राउत, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका प्रतिनिधि सहभागी थिए।
मतदानअघि मादक पदार्थको बिक्री–वितरणमा रोक लगाउने विषयमा पनि छलफल भएको छ। यसबारे आयोगले समय तोकेर औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरेको छ।
फागुन १९ मा पर्ने तराईको होली पर्व र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलाको व्यवस्थापनबारे पनि बैठकमा छलफल भएको छ। भारतको सितामढीबाट हजारौँ श्रद्धालु जनकपुरस्थित जानकी मन्दिरमा आउने र फागुन १८ गते फर्किने परम्परा रहेकाले मौन अवधिसँग जुध्ने अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिइएको जनाइएको छ।
भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाउने विषयमा पनि छलफल भएको छ। मतदान हुनुभन्दा कति दिनअघिदेखि विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने भन्ने निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई दिइएको छ।
हिमाली जिल्लामा भइरहेको हिमपातका कारण निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा कर्मचारीलाई हुने सम्भावित स्वास्थ्य चुनौती र मतपेटिकासहित निर्वाचन सामग्री ढुवानी कसरी गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल गरिएको छ।
