काठमाण्डौ – सरकारले प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पूर्ण रूपमा सुदृढ बनाइएको जानकारी दिनुभएको छ।
राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख ‘म्यान्डेट’ नै समयमै चुनाव सम्पन्न गरी संवैधानिक प्रक्रियाअनुसार निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार निर्वाचन आयोगले प्रक्रियागत सबै काम सम्पन्न गरिसकेको छ र अब मतदानको दिनको कार्यान्वयन मात्र बाँकी रहेको छ।
चुनावको आधारभूत आवश्यकता शान्ति–सुरक्षा भएकाले देशभर एकीकृत सुरक्षा योजना लागू गरिएको उहाँले बताउनुभयो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरी केन्द्र, प्रदेश र जिल्लास्तरमा कमाण्ड पोस्ट स्थापना गरिएको छ।
दैनिक सुरक्षा समीक्षा र समन्वय बैठकमार्फत सम्भावित जोखिमको विश्लेषण गर्दै आवश्यक रणनीति अपनाइएको गृहमन्त्री अर्यालको भनाइ छ। पछिल्ला दिनमा केही स्थानमा देखिएका छिटपुट घटनाले चुनावमा कुनै असर नपार्ने उहाँले स्पष्ट पार्नुभयो।
ती घटनाहरूलाई नियन्त्रणमा राखिएको र संवाद तथा समन्वयमार्फत समाधान गरिएको उल्लेख गर्दै उहाँले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। उच्च हिमाली जिल्लाका केही मतदान केन्द्र सार्ने मागबारे सबै सरोकारवालाको सहमति भए आवश्यक निर्णय गर्न सरकार तयार रहेको पनि उहाँले बताउनुभयो।
