काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४ सय ६ प्रत्यक्ष उम्मेदवारमध्ये अहिलेसम्म केवल १ हजार २ सय १३ जनाले मात्र बैंक खाता खोलेका छन्। ६८ दलमध्ये भने ९ दलले मात्रै खाता खोलिएको निर्वाचन आयोगले जनाएको छ।
खाता खोलेका दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहयोगको पारदर्शिता सुनिश्चित गर्न, निर्वाचन कानुनले तोकेको खर्च सीमा पालन र प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार, सबै दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि हुने आम्दानी–खर्च कारोबार सोही खातामार्फत गर्नुपर्ने व्यवस्था छ। यही कार्यविधिअनुसार खाता खोलिएका हुन्।
