काठमाण्डाै — निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने नियतले भ्रमित पार्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
झापाको बिर्तामोडमा मंगलबार आयोजित पार्टीको चुनावी कार्यक्रममा लामिछानेले घिमिरेलाई ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्दै टिप्पणी गरेका थिए। यसको जवाफस्वरूप घिमिरेले प्रेस विज्ञप्ति जारी गरी लोकतान्त्रिक अभ्यासमा चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत आरोप र घृणाले प्रभावित पार्न नसक्ने स्पष्ट पारेका छन्।
घिमिरेले विज्ञप्तिमा उल्लेख गरेका छन् कि संसदीय अभ्यासमा प्रत्येक सदस्यलाई बोल्ने अधिकार हुन्छ तर छलफललाई व्यवस्थित र क्रमिक रूपमा अगाडि बढाउन समय निर्धारण गरिन्छ। ‘माइक काट्नु वा काटिनु सभामुखको व्यक्तिगत विचारमा आधारित नभई पूर्वनिर्धारित समय र संसद्को नियमावली अनुसार हुने प्रक्रिया हो,’ उनले भने।
उनले संसद्को कार्यप्रणालीबारे सामान्य जानकारी राख्ने व्यक्तिले यसलाई बुझ्न सक्ने दाबी गरेका छन्। घिमिरेले विज्ञप्तिमा उदाहरण दिँदै आफूले संसद्को अभ्यासमार्फत र संसदको वेबसाइटमा पनि उपसभामुख वा अन्य माननीय सदस्यको पालामा माइक काटिएको पाइने बताएका छन्।
निवर्तमान सभामुखले लामिछानेलाई उल्टै सांसद पदमा बहाल रहन कानुनी आधार नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ भनी प्रश्न समेत गरेका छन्। झापा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका घिमिरेले आफू प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता पहिले नै व्यक्त गरेको स्मरण पनि गराएका छन्।
