रोल्पा — मंगलबार बिहान रोल्पामा भएको जिप दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय होलेरी, रोल्पाका वरिष्ठ सई ताराबहादुर छहरीका अनुसार मृतक महिलाको उमेर करिब ४५ वर्ष अनुमान गरिएको छ र उनको सनाखत हुन बाँकी छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइते सबैलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पठाइएको छ।
दुर्घटना बिहान सवा ९ बजेतिर रून्टीगढी गाउँपालिका–५, खुम्बासमा लु १ ज ४८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटना स्थल दाङ र रोल्पाको सिमानामा पर्दछ।
प्रहरीका अनुसार दाङको घोराहीबाट शहिद मार्ग हुँदै होलेरीतर्फ जाँदै गरेको जिप झन्डै डेढ सय मिटर तल खसेको थियो। घटना सम्बन्धमा अनुसन्धान जारी छ।
