काठमाण्डाै — राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको उपचार काठमाण्डौ मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने घोषणा गरेको छ।
महँगो उपचार खर्चका कारण समस्यामा परेकी साम्बाले सामाजिक सञ्जालमार्फत सहयोगको अपील गरेपछि अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले नेपालमै उपचार गराउन तयार भए सम्पूर्ण खर्च कलेजले व्यहोर्ने घोषणा गर्नुभएको हो।
कतारको अस्पेटार अस्पतालमा भएको अघिल्लो शल्यक्रियामा ग्राफ्ट र एमसीएलमा समस्या देखिएकाले साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको थियो। हिजो उनले सामाजिक सञ्जालमा झन्डै ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोग आह्वान गरेकी थिइन्।
अखिल नेपाल फुटबल संघले साम्बाको उपचारका लागि कतार फुटबल संघसँग पत्राचार गरेको छ। साम्बाले डेढ महिनाअघि अस्ट्रेलियाली ए–लिग खेल खेल्ने क्रममा वेलिङ्गटन फिनिक्समा ब्रिस्बेन रोअरसँगको खेलमा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किएर घुँडामा चोट पाएकी थिइन्।
