काठमाडौँ — नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ। सुनुवाइ विशेष अदालत नेपालका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा भइरहेको छ।
२०८१ बैशाख ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सार्वजनिक पदमा रहँदा २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेको थियो। अख्तियारले सुनिलका दाजु अनिल पौडेलविरुद्ध पनि सम्पत्ति जफतको मागसहित मुद्दा दर्ता गरेको थियो।
आयोगका अनुसार पौडेल पदमा रहँदा पारिश्रमिक, भत्ता, शेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ रुपैयाँ आम्दानी गरेको देखिन्छ। त्यस्तै २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैयाँ खर्च र लगानी गरेको उल्लेख छ।
अख्तियारले औँल्याएअनुसार, आम्दानी र खर्चको आधारमा पौडेलको २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको सम्पत्ति अवैध रहेको ठहर गरिएको छ। साथै, राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रहँदा राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाका लागि खरिद गरिएका सफ्टवेयर र हार्डवेयर सञ्चालनमा नल्याएर भ्रष्टाचार गरेको आरोप पनि लगाइएको छ।
