काठमाडौँ — सर्लाहीको बागमती नगरपालिका का निलम्बित मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दामा मंगलबार विशेष अदालतमा सुनुवाइ सुरु भएको छ। सुनुवाइ विशेष अदालत नेपालका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा भइरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापाविरुद्ध माछापोखरी निर्माणको नाममा ५६ करोड ७१ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाउँदै सोही बराबरको बिगो माग गरेको थियो। आयोगले बागमती–४ र १२ का सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गरी निर्माण भएको पोखरीमा करोडौँ रकम हिनामिना गरेको आरोप समेत लगाएको छ।
अख्तियारले मेयर थापासहित उपमेयर लिलाकुमार मोक्तान र पूर्वमन्त्री विजयकुमारसहित अन्य व्यक्तिहरूलाई पनि विपक्षी बनाएको छ। प्रतिवादीहरूले माछापोखरी निर्माणको नाममा गैरकानुनी संरचना निर्माण गरी साबिक वन ऐन, २०४९ तथा प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेको अभियोग छ।
मधेस प्रदेश सरकारबाट माछाविहीन पोखरीका लागि पटक–पटक अनुदान लिएको र निर्माण पूरा नभएको अवस्थामा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले ३० करोड रुपैयाँ अनुदानको एमओयूमा हस्ताक्षर गरेको आरोप पनि आयोगले लगाएको छ।
