काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सुनुवाइ सर्वोच्च अदालत नेपालका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा हुनेछ।
यसअघि सोमबार सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट सम्बन्धित फाइल झिकाउन आदेश जारी गरेको थियो। प्रारम्भिक सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा अदालतले फाइल मगाउने निर्णय गरेको हो।
प्रसाईंकातर्फबाट उमा प्रसाईले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। पक्राउ पर्नुअघि उनी फागुन १ गते धरपकड रोक्न रिट दिएका थिए। सर्वोच्च अदालतले सो रिटमा निर्वाचन आयोग र जिल्ला प्रहरी परिसरसँग लिखित जवाफ मागेको थियो। दायर भएका दुई रिटलाई एकसाथ राखेर सुनुवाइ हुने छ।
प्रसाईलाई माघ २३ गते पक्राउ गरी हाजिर जमानीमा रिहा गरिएको थियो। त्यसबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई प्रहरीले साइबर ब्यूरो मार्फत अनुसन्धान गरेको थियो। फागुन २१ गते हुन लागेको निर्वाचन विथोल्ने अभियानमा संलग्न हुने आशंकामा प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्दै आएको छ। यसअघि माघ ५ गते पनि पोखराबाट पक्राउ गरी बयान लिई रिहा गरिएको थियो।
