काठमाण्डाै — प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलन गरी २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने योजना निर्वाचन आयोगले बनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान सम्पन्न भएलगत्तै मतगणना प्रक्रिया अगाडि बढाइनेछ। समानुपातिकतर्फ परिणाम सार्वजनिक हुन एक–दुई दिन लाग्न सक्ने भए पनि प्रत्यक्षतर्फ ढिला नहुने विश्वास व्यक्त गर्नुभएको छ।
आयोगले चुनाव तयारी केन्द्रित आवश्यक सबै व्यवस्थापन पूरा गरेको र मतदान दिनभित्रै सम्पूर्ण प्रक्रिया सञ्चालनमा राख्ने जनाएको छ। मतदान २१ गते बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले चुनावका समयमा सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउन नहुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गर्नुभएको छ। उहाँले राजनीतिक दलहरूलाई निषेधको राजनीति नगर्न चेतावनीसमेत दिनुभएको छ।
