काठमाण्डौ — डिजिटल प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौतीहरूलाई सामना गर्न नेपाल प्रहरीले नयाँ ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स (एआई) सेल’ स्थापना गरेको छ। यस सेलको मुख्य उद्देश्य सामाजिक सञ्जालमा फैलिने गलत, भ्रामक वा हानिकारक सामग्रीको निगरानी र व्यवस्थापन गर्नु हो।
प्रहरी प्रधान कार्यालय, नक्सालमा स्थापना भएको सेलको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालले गर्नु भएको थियो। उनले एआई सेल विशेषगरी निर्वाचन समय फैलिने गलत सूचना नियमन गर्न र निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
पुलिसका अनुसार डिजिटल युगमा छिटो सूचना प्रवाहको प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पुर्याइरहेको छ। ‘मिसइन्फर्मेसन’, नियोजित रूपमा फैलाइने ‘डिस्इन्फर्मेसन’, ‘डिपफेक’, ‘हेट स्पिच’, एआईको दुरुपयोग र डिजिटल ‘म्यानिपुलेसन’ जस्ता समस्याहरूलाई नियन्त्रण गर्न यस सेलले काम गर्नेछ।
