सर्लाही जिल्ला — फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका उम्मेदवारहरू निर्वाचन खर्च व्यवस्थापनसम्बन्धी नियम पालना गर्न उदासीन देखिएका छन्। निर्वाचन आयोग नेपालको निर्देशनअनुसार प्रचार–प्रसारलगायत निर्वाचन खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले छुट्टै बैंक खातामार्फत मात्र आम्दानी र खर्च गर्नुपर्ने व्यवस्था भए पनि अधिकांशले हालसम्म खाता खोलेको विवरण बुझाएका छैनन्।
जिल्लामा २६ राजनीतिक दल तथा स्वतन्त्र गरी कुल १३१ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये सोमबारसम्म १९ जनाले मात्र बैंक खाता खोलेको प्रमाण पेस गरेका छन् भने ७६ जनाले खाता खोल्न सिफारिस लिइसकेका भए पनि विवरण बुझाउन ढिलाइ गरिरहेका छन्।
जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार उम्मेदवारहरूलाई बैंक खाता खोल्न र विवरण पेस गर्न बारम्बार फोनमार्फत स्मरण गराइँदै आएको छ। आयोगको निर्देशनअनुसार समयमै खाता नखोली निर्वाचन खर्च गरेमा नियम उल्लङ्घन मानिने स्पष्ट व्यवस्था रहेको उनले बताए।
