काठमाडौँ — नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडी उपचार कोषमा पार्टीका तर्फबाट उक्त रकम सहयोग गर्ने जानकारी गराएको बताएका छन्। उनले देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान पुर्याएकी खेलाडी साम्बालाई यस समयमा सबैको साथ आवश्यक रहेको उल्लेख गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी थिइन्। त्यसपछि विभिन्न क्षेत्रबाट सहयोगका हात अगाडि बढिरहेका छन्। यद्यपि एन्फा र सरकारको तर्फबाट औपचारिक पहल नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ।
