बैतडी जिल्लामा आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट रहेका छन्। जिल्ला प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ड्युटी सकेर घर फर्किएपछि गए राति एक्कासी बेहोस भएका थिए। उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेतका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि ज्यान गएको थियो। घरमा खाना खान गएका बेला अचेत अवस्थामा भेटिएका उनलाई जिल्ला अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको थियो। त्यसैगरी माघ तेस्रो साता सोही नगरपालिका–४ का ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको भिरबाट लडेर मृत्यु भएको थियो। पछिल्लो एक महिनामा तीन जना म्यादी प्रहरीको मृत्यु भएपछि घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
