रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका–६ स्थित सबगढामा भएको साम्प्रदायिक विवादका घटनामा २२ जनाविरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैद र वडा नम्बर ६ का वडाध्यक्ष अबधविहारी साहलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा जिम्मा जमानीमा रिहा गरिएको छ।
कार्यालयका प्रवक्ता तथा डीएसपी विष्णुप्रदीप वस्यालका अनुसार गत शनिबार सबगढा घटनालाई चर्काएर तोडफोडमा संलग्न रहेको आरोपमा शुभनारायण साह र समिर मियाँलाई पक्राउ गरिएको छ। दुई जनासहित कुल २२ जनाविरुद्ध मुद्दा दर्ता गरी सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिम्मा जमानीमा रिहा गरिएका शेख जमशैद, वडाध्यक्ष अबधविहारी साहसहित तीन जनाको मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ। ती मोबाइल परीक्षणका लागि काठमाडौं पठाइने र परीक्षणबाट दोष प्रमाणित भए कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।
सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको जानकारी दिएको छ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।
प्रहरीका अनुसार मुद्दा दर्ता गरिएका अन्य व्यक्तिहरूमा शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दिपेन्द्र चन्द्रवंशी, विनोद कुमार साह, शेख रहमतुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहमद राजा, सर्फुदिन अन्सारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफलगायत रहेका छन्।
गत बिहीबार राति विवाहको जन्ती बाजा बजाउँदै सबगढा प्रवेश गर्ने क्रममा मस्जिद अगाडिबाट गुज्रिएको थियो। सोही समयमा मस्जिदमा नमाज पढिँदै रहेको अवस्थामा बाजा किन बजाइएको भन्दै विवाद सुरु भएको थियो। डिजे समूह र स्थानीय मुस्लिम समुदायबीच भएको भनाभनपछि कुटपिट भएको र त्यसपछि घटना साम्प्रदायिक तनावमा रूपान्तरित भएको प्रहरीले जनाएको छ।
