मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा गएराति ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भू–भौतिकीविद्हरूका अनुसार भूकम्पको केन्द्र सबाहको राजधानी कोटा किनाबालुबाट उत्तरपूर्वतर्फ करिब १०० किलोमिटर टाढा र ६१९.८ किलोमिटर गहिराइमा रहेको छ। भूकम्प राति १२:५७ बजे गएको र संयुक्त राज्य भूगर्भ सर्वेक्षण (USGS)ले यसबाट ठूलो क्षति नभएको जनाएको छ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले गहिरो केन्द्रका कारण सुनामीको जोखिम नरहेको स्पष्ट पारेको छ। यस्तै, मलेसिया मौसम विज्ञान विभागले भूकम्पको तीव्रता ६.८ मापन गर्दै अवस्थालाई नजिकबाट निगरानी गरिने जनाएको छ।
सबाहको पश्चिमी तट तथा सरावाक राज्यका केही क्षेत्रमा पनि कम्पन महसुस भएको समाचार संस्था एएफपीले जनाएको छ।
