नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापा–५ को दमकमा चुनाव हुने/नहुने विषयमा राष्ट्रिय बहस गर्न प्रस्ताव गरेका छन्। उनले झापा–५ मा भावी प्रधानमन्त्रीका दुई उम्मेदवार प्रस्तावित रहेकाले राष्ट्रिय स्तरको छलफलका लागि कांग्रेस सभापति गगन थापालाई समेत दमक पठाउन आफू तयार रहेको बताए।
नेपाल प्रेस युनियन झापाले सोमबार बिहान धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले कुनै पनि बहानामा चुनाव नरोकिने दाबी गरे। प्रमुख दलकै नेतृत्वबाट चुनावप्रति आशंका व्यक्त हुनु वा पूर्वराजाले चुनावअघि राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्नु उपयुक्त नभएको उनको टिप्पणी थियो।
“यदि कसैलाई अझै पनि चुनाव हुँदैन कि भन्ने शंका छ भने दमकमा राष्ट्रिय बहस गरौँ,” उनले भने, “दुई प्रमुख दलका प्रस्तावित भावी प्रधानमन्त्रीका उम्मेदवार यही क्षेत्रमा छन्। हाम्रो सभापति गगन थापालाई कहिले दमक ल्याउने भन्ने जिम्मेवारी म लिन्छु।”
कांग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय संयोजकसमेत रहेका शर्माले देश चुनावी माहोलमा प्रवेश गरिसकेको उल्लेख गर्दै निर्वाचनलाई असर पर्ने गतिविधि कसैले नगर्नुपर्ने बताए। निर्धारित मिति फागुन २१ मै चुनाव हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ।
शर्माले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्दै देश परिवर्तनको खोजीमा रहेको र त्यसलाई बदलिएको कांग्रेसले मात्रै सम्हाल्न सक्ने जिकिर गरे। “जनताको भावना बुझ्ने र परिवर्तनको एजेन्डा बोकेको शक्ति कांग्रेस नै हो,” उनले बताए।
