आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनाङको विकट नार्पाभूमि गाउँपालिका जोड्ने पदमार्गमा जमेको बाक्लो हिउँ पन्छाएर बाटो सञ्चालनमा ल्याइएको छ। धर्मशाला र झरना आसपास क्षेत्रमा हिउँ जमेर आवतजावत पूर्ण रूपमा अवरुद्ध भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पाँच दिनको निरन्तर प्रयासपछि मार्ग खुलाएको हो।
मतदान नजिकिँदै गर्दा मतदाताहरू गाउँ फर्किन थाले पनि नार्पाभूमिका अधिकांश बस्ती अझै सुनसान देखिएका छन्। जाडो छल्न काठमाडौं, पोखरा र बेसी झरेका मतदाताहरू मतदानका लागि गाउँ फर्किने क्रममा रहेको मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार हाल गाउँमा केही वृद्धवृद्धा र चौँरी गोठाला मात्र रहेका छन् भने काठमाडौंमा बसोबास गर्ने मतदाताहरू फागुन १४–१५ गतेतिर गाउँ आइपुग्ने अपेक्षा गरिएको छ। त्यसपछि मात्र निर्वाचन टोली मतदान केन्द्रतर्फ प्रस्थान गर्ने तयारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले निर्वाचनका लागि आवश्यक सुरक्षा र व्यवस्थापकीय तयारी पूरा भइसकेको जानकारी दिँदै मौसमबाहेक अन्य कुनै चुनौती नरहेको बताए। “प्राकृतिक समस्या बाहेक मानव सिर्जित अवरोध छैन, हामी निर्वाचनका लागि पूर्ण रूपमा तयार छौँ,” उनले स्पष्ट पारे।
नार्पाभूमि गाउँपालिकाका पाँच वडामा कुल ४८८ मतदाता रहेका छन्। गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार मतदाताहरूलाई गाउँ फर्किन आग्रह गरिएको छ। कम्तीमा परिवारका एक सदस्य भए पनि मतदानमा सहभागी हुनुपर्ने भन्दै फागुन १४ देखि १७ गतेभित्र करिब २५० जना मतदाता गाउँ आइपुग्ने अपेक्षा गरिएको छ।
यसपटक मनाङमा प्रतिनिधि सभाका लागि तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली काँग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की यशोदा सुवेदी र मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घले मैदानमा छन्। यसअघि उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूले काँग्रेसलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका छन्।
निर्वाचन आयोगले केही दिनमै मतदान अधिकृत तथा कर्मचारीलाई तालिम दिएर सुरक्षा व्यवस्थासहित मतपत्र र मतपेटिका सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी गरेको जनाएको छ।
