धादिङ । सोमबार बिहान गृह मन्त्रालयमा पोखराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना विषयमा बैठक बसेको छ।
गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् कि बैठकमा दुर्घटनाको छानबिनका लागि समिति गठन गर्ने निर्णय भएको छ।
उनका अनुसार दुर्घटनामा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ।
ठूलो दुर्घटना भएपछि गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव, भौतिक पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी र सुरक्षा अंगका प्रमुखहरुको उपस्थितिमा बैठक बसेको थियो। समितिको संयोजक अहिलेसम्म टुंगिएको छैन।
पोखराबाट काठमाडौं जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनिघाट–रोराङ गाउँपालिका–५ भैसीगौडामा दुर्घटनामा परेको थियो। बस अनियन्त्रित भएर करिब २०० मिटर तल त्रिशुली नदी किनारामा खसेको थियो।
ज्यान गुमाउनेमा विदेशी नागरिकहरू समेत रहेका छन्, जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
