पर्साको वीरगञ्ज महानगरपालिकामा सामाजिक सद्भाव बिगार्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका–११ मा आइतबार साँझ दुई फरक समुदायबीच झडप भएको थियो। उक्त घटनापछि समुदायबीच सद्भाव बिगारेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार स्तछे हवारी भनिने व्यक्तिलाई पक्राउ गरिएको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान सुरू गरेको छ।
आइतबार पार्किङको विषयमा सुरु भएको विवादले उग्र रूप लिँदा दुई समुदायबीच झडप भएको थियो। छिमेकबीचको सामान्य भनाभन पछि ठूलो झडपमा परिणत भएको प्रहरीले जनाएको छ। घटनामा केही व्यक्ति घाइते पनि भएका थिए।
सोमबार बिहान पुनः प्रदर्शन सुरु भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहान ९:४५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
