काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सोमबार उक्त रिटमाथि सुनुवाइ हुने भएको हो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। साथै उनलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरिएको थियो।
प्रसाईको हकमा उमा प्रसाईले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन्।
यसअघि माघ २३ गते पक्राउ परेका प्रसाई हाजिर जमानीमा रिहा भएका थिए। त्यतिबेला निर्वाचनसम्बन्धी उनले दिएको अभिव्यक्तिलाई आधार बनाएर प्रहरीले अनुसन्धान गरी बयान लिएपछि छाडेको थियो।
फागुन २१ गते हुने निर्वाचन विथोल्ने अभियान सुरु गर्ने आशंकामा प्रहरीले प्रसाईलाई पटक–पटक पक्राउ गर्दै आएको छ। यसअघि माघ ५ गते पोखराबाट पनि उनलाई पक्राउ गरी बयान लिएपछि रिहा गरिएको थियो
