काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखराबाट काठमाडौँ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
लामिछानेले दुःखद घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो। तर यसतर्फ विगतमा गम्भीर चासो र चिन्ता लिइएन। दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी कारण पहिचान, दोषीमाथि कारबाही र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्थ्यो, हुन सकेन।”
उनले सुरक्षित सडक, जिम्मेवार चालक, कडाइका साथ कार्यान्वयन हुने नियम तथा प्रभावकारी अनुगमन नै यस्ता त्रासदी रोक्ने आधार भएको जिकिर गर्दै “हामी गम्भीर र जिम्मेवार हुनेछौँ,” उल्लेख गरेका छन्।
धादिङमा भएको उक्त बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने थप दुई जनाको उपचारका क्रममा ज्यान गएको हो।
