निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार जारी गरेको विज्ञप्तिमा प्रचारप्रसार गर्दा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक चुनाव चिह्न प्रयोग नगर्न भनिएको हो।
आयोगका अनुसार त्यस्ता सामग्रीको प्रयोगका कारण जनसुरक्षामा जोखिम बढेको तथा समग्र शान्ति व्यवस्था प्रभावित हुन सक्ने भन्दै विभिन्न उजुरी र गुनासाहरू प्राप्त भएका छन्। विज्ञप्तिमा भनिएको छ, “धातु, काठ वा अन्य प्रकृतिका सामग्रीबाट बनेका भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढेको भन्ने उजुरीहरू आयोगमा प्राप्त भएका छन्।”
यद्यपि कपडा, तुल, फ्लेक्स वा कागजमा चुनाव चिह्न छापी तोकिएको मापदण्डअनुसार प्रचारप्रसार गर्न भने पाइने आयोगले स्पष्ट गरेको छ।
आचारसंहिताले तोकेबमोजिम दलको झन्डा र चुनाव चिह्नमार्फत मात्रै प्रचारप्रसार गर्नुपर्ने र सो विपरीतका गतिविधि आचारसंहिता प्रतिकूल हुने आयोगले जनाएको छ।

