नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
गैँडाकोट नगरपालिका–७ स्थित जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा देवचुली नगरपालिका–११ का १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा कावासोती नगरपालिका–१७ का १७ वर्षीय राज विक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार गैँडाकोटबाट रजहरतर्फ जाँदै गरेको ना ६३ प ९३९० नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर लड्ने क्रममा सुनौलीबाट काठमाडौं आउँदै गरेको लु २ ख ४४६१ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनापछि मोटरसाइकल चालक र पछाडि सवार दुवै जनालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो। उपचारको क्रममा चालक बिजेन पुलामीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। अर्का घाइते राज विकको उपचार भइरहेको प्रहरीले जनाएको छ।
