काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्।
आज बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार दुर्घटनास्थलबाट हालसम्म १७ जनाको शव निकालिएको छ। घाइते २८ जनाको उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए। तीमध्ये ४३ जना पोखराबाट र २ जना मुग्लिनबाट चढेका थिए। मृतक तथा घाइतेको सनाखत प्रक्रिया जारी रहेको छ भने दुर्घटनाको कारण खुल्न बाँकी छ।
उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको नेतृत्वमा टोली खटिएको छ। साथै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली परिचालन गरिएको प्रवक्ता भट्टले जानकारी दिएका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
