बाँके – बाँके प्रहरीले दुई वर्षअघि भएको हत्या प्रकरणका एक आरोपितलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–२१ का ५३ वर्षीय अफजल पठान रहेका छन्।
नेपालगञ्ज–२१ बिर्ता गाउँका २२ वर्षीय मोहम्मद अरबी खाँको २०८० चैत १८ गते गंगारामपूर्वादेखि तेलियनपुर जाने कच्ची बाटोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
डिएसपी दीपक पातलीका अनुसार घटनापछि फरार रहेका पठानलाई नेपालगञ्ज–१५ जमुनाहास्थित नेपाल–भारत सीमा नाका क्षेत्रबाट पक्राउ गरिएको हो। निर्वाचनको मौका छोपेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पठानविरुद्ध यसअघि पनि बाँके प्रहरीमा २०६१ असार १७ गते हफिफुल्ला खाँको हत्या र २०६२ भदौ ११ गते रियाज खाँको हत्यामा संलग्नता रहेको भन्दै जाहेरी दर्ता भएको रेकर्ड फेला परेको छ।
जिल्ला अदालत बाँकेले शुक्रबार हत्या घटनाको अनुसन्धानका लागि पठानलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।
