काठमाडौँ – काठमाडौंको मनमैजु क्षेत्रमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १ बजे तारकेश्वर नगरपालिका–१० स्थित मनमैजु मन्दिर नजिक चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार चितुवा हाल मनमैजुस्थित एक घरभित्र रहेको छ। उद्धारका लागि काठमाडौं डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको जनाएको छ।
घाइते हुनेमा मनमैजुको नासलचोक बस्ने ६५ वर्षीय दुलाल महर्जन रहेका छन्। उनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि शुभम् अस्पताल मनमैजु पठाइएको छ।
त्यस्तै ५५ वर्षीय मायानाथ वाग्ले पनि घाइते भएका छन्। उनको दाहिने कान र हातमा चोट लागेको छ। उनलाई उपचारका लागि नेपाली सेनाको छाउनीस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
