काठमाडौँ – काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल र मोबाइल चोरी गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बूढानीलकण्ठ क्षेत्रमा सक्रिय चार सदस्यीय गिरोहलाई चोरीका पाँच वटा सवारीसाधन र सात थान मोबाइलसहित नियन्त्रणमा लिइएको हो।
काठमाडौँका विभिन्न स्थानबाट सवारीसाधन हराएको उजुरी परेपछि प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीका मेन्सुहाङ राई, काठमाडौँका शमिर तामाङ, खोटाङका प्रज्वल राई र दोलखाका जनम तामाङ रहेका छन्। उनीहरू सबै १८ वर्षका हुन् र माकलवारी, कपन तथा पासिकोट क्षेत्रमा बसोबास गर्दै आएका थिए।
प्रहरीले उनीहरूको साथबाट बागमती र मधेश प्रदेशका नम्बर प्लेट भएका तीन वटा बुलेट मोटरसाइकल र दुई वटा स्कुटर बरामद गरेको छ। ती सवारीसाधन बूढानीलकण्ठ, ठमेल, शोभाहिटी, कालीमाटी र बानेश्वर क्षेत्रबाट चोरी भएका थिए।
साथै, आईफोन १६ प्लस र आईफोन १६ प्रो म्याक्ससहित सामसुङ, ओप्पो, रेडमी र अनर ब्रान्डका सात थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।
