सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सङ्घीय प्रणालीको रक्षा केवल मधेसको बलियो उपस्थिति र जागरूकतामा निर्भर रहेको बताएका छन्।
आइतबार सप्तरीको चुनावी सभामा मतदातालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, “सङ्घीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रीकृत शासनतर्फ फर्काउने प्रयास भइरहे पनि मधेस सचेत रहँदा ती षड्यन्त्र सफल हुँदैनन्।”
उनले स्मरण गराए कि मुलुकमा सङ्घीयता स्थापना हुने प्रमुख कारण मधेस प्रदेशको संघर्ष, बलिदान र आन्दोलन भएको हो। साथै, केही शक्तिहरू सङ्घीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप उनले लगाएका छन्।
अध्यक्ष यादवले थपे, “मधेस कमजोर भयो भने सङ्घीयता केवल कागजमा सीमित हुनेछ। त्यसैले मधेसलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको अपरिहार्य आवश्यकता हो।”
साथै उनले निर्वाचनमा मतदानमार्फत जसपा नेपाललाई बलियो बनाउन आमजनतालाई अपिल गर्दै सङ्घीयताको रक्षा, अधिकारको सुनिश्चितता र स्वाभिमानको संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
