नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अजयबाबु शिवाकोटीले दोलखाका लागि आफ्नो विस्तृत चुनावी प्रतिबद्धता पत्र आइतबार सार्वजनिक गरेका छन्।
उनले आफ्नो प्रतिवद्धतामा पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, युवा रोजगारी र जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने घोषणा गरेका छन्।
प्रमुख एजेन्डा:
सडक र पूर्वाधार: लामोसाँगु–जिरी सडक स्तरोन्नति, लामाबगर–तिब्बत नाका खोल्ने र दोलखाको रिङरोड अवधारणालाई पूर्णता दिने।
पर्यटन: जिरी र शैलुङलाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र बनाउने, कालिञ्चोकदेखि रोल्पा र लप्चीसम्म एकीकृत पर्यटन गुरुयोजना अघि बढाउने। खरिढुंगालाई अन्तर्राष्ट्रिय फिल्म सुटिङ स्थलमा परिणत गर्ने र धार्मिक ‘भीमसेन–रामायण सर्किट’ कार्यान्वयन गर्ने।
कृषि र पशुपालन: ‘एडप्ट अ फार्म’ नीति र डिजिटल कार्ड प्रणालीमार्फत किसानलाई बिचौलिया मुक्त बजार र आम्दानी ग्यारेन्टी। आलु, किवी, छुर्पी उत्पादनको कोल्ड स्टोरेज र संकलन प्रणाली।
खानी र प्राकृतिक स्रोत: म्याग्नेसाइट र ढुंगा खानी उत्खनन्, जडीबुटी प्रशोधन केन्द्र स्थापना, स्थानीय रोजगार र शेयर सुनिश्चित।
शिक्षा र स्वास्थ्य: चरिकोट अस्पताल आधुनिक रिफरल हस्पिटल, प्राविधिक कलेज र आईटी–हाइड्रो एकेडेमी, प्रत्येक स्थानीय तहमा आवासीय विद्यालय।
युवा र रोजगारी: स्टार्टअप सपोर्ट, बिना धितो ऋण, फ्री वाइफाइ र डिजिटल हब, रिभर्स माइग्रेसन प्रोत्साहन।
जलविद्युत: ‘जनताको पानी, जनताकै लगानी’ अभियान, जलविद्युत रोयल्टीको ५०% शिक्षा–स्वास्थ्यमा खर्च, स्थानीय शेयर लगानी सुनिश्चित।
सिमान्तकृत समुदाय: सुरेल र थामी जातिका लागि अन्तर्राष्ट्रिय अध्ययन केन्द्र र सांस्कृतिक ग्राम निर्माण।
खेलकुद: हरियो घाँसे मैदान, हाई–अल्टिच्युड खेल एकेडेमी, राष्ट्रिय स्तरको प्रतियोगिता।
शिवाकोटीले संसदमा केवल संख्या बन्न नभई दोलखालीको आवाज बन्ने प्रतिवद्धता जनाउँदै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र पारदर्शी सरकारको स्थापना गर्ने आश्वासन दिएका छन्। उनले मतदातालाई आफ्नो मतले दोलखाको बहुआयामिक विकास सुनिश्चित गर्ने अवसर दिन अपिल गरेका छन्।
