लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मातहतका निकायलाई योजना तर्जुमा र बजेट विनियोजन यथार्थपरक र व्यवस्थित बनाउन स्पष्ट निर्देशन दिएका छन्।
आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आइतबार सम्पन्न अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट ‘साइज’ अनुसार तयारी गर्न आग्रह गरे। उनले प्रदेश सरकारले योजना तर्जुमा निर्देशिका निर्माण गरी टुक्रे योजना कटौती गर्ने र मन्त्रिपरिषद्बाट स्वीकृत गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको जानकारी दिए।
मुख्यमन्त्रीले परिणाममुखी कार्यसम्पादनमा जोड दिँदै, भुक्तानी हुन बाँकी आयोजना फागुन महिनाभित्रै निकासा गर्न र आन्तरिक आम्दानी वृद्धि गर्न राजस्वको दायरा विस्तार गर्न निर्देशन दिए। उनले समपूरक, सशर्त र विशेष अनुदानअन्तर्गतका आयोजनालाई समयमै सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने उल्लेख गरे।
कार्यक्रममा पूर्व मुख्यमन्त्री र विपक्षी दलका नेताहरू, प्रमुख सचिव, र प्रदेश योजना आयोगका उपाध्यक्षले योजना छनोट र कार्यान्वयनलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बंधुप्रसाद बास्तोलाले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै, पुस मसान्तसम्म पुँजीगत खर्च १८.०४ प्रतिशत र कुल खर्च २०.४५ प्रतिशत पुगेको जानकारी दिए।
प्रदेशले कार्यसम्पादन मूल्याङ्कनमा ३४.७१ अंक प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको छ। मूल्याङ्कन सुधारका लागि प्रदेशले राजस्व परिचालन बढाउने, वन क्षेत्रको दायरा विस्तार गर्ने तथा बेरुजु घटाउनेतर्फ विशेष ध्यान दिनुपर्ने सुझाव दिइएको छ।
