काठमाण्डौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन्।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताए। यसले व्यापार घाटा कम गर्न र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ।
सिन्हाले उल्लेख गरे, “पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालमा वार्षिक १३ करोड लिटर पेट्रोलको आयात घट्नेछ। यसबाट विदेशी मुद्रा बचत हुनेछ र स्थानीय अर्थतन्त्रमा नयाँ चक्र सन्चालित हुनेछ।”
उहाँले इथानोल उत्पादनका लागि उखुजस्ता कृषि उत्पादन बढ्ने, कृषि भुमिको उपयोग विस्तार हुने र रोजगारी सृजना हुने विश्वास व्यक्त गर्नुभयो। नयाँ उद्योग स्थापना, सुरक्षा, कच्चा पदार्थ आपूर्ति र औद्योगिक वातावरणमा चुनौतीहरू भए पनि, यस क्षेत्रमा विदेशी लगानी आउन सक्ने उहाँको भनाइ थियो।
मन्त्री सिन्हाले इथानोल प्रतिस्पर्धी बनाउन पेट्रोलभन्दा यसको मूल्य कम राख्न आवश्यक भएको र त्यसका लागि कार्यविधि चाँडै तयार हुने जानकारी दिएका छन्।
