काबुल – पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रातभर शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ। तालिबान सरकारले दिएको जानकारीअनुसार, यसमा महिला र बालबालिकासहित दर्जनौँ नागरिकको मृत्यु भएको छ।
पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा नजिक रहेका सातवटा कथित चरमपन्थी शिविर र लुकेका ठाउँहरूलाई लक्ष्य गरेर यो आक्रमण गरेको दाबी गरेको छ। पाकिस्तानका अधिकारीहरूले यसलाई इस्लामावादसँग सम्बन्धित आत्मघाती बम विष्फोटको प्रतिशोधको रूपमा प्रस्तुत गरेका छन्।
तालिबानको रक्षा मन्त्रालयका अनुसार, नान्गाहार र पक्तिका प्रान्तका नागरिक बस्ती र एउटा धार्मिक विद्यालय पनि निशाना बनेका छन्। नान्गाहारका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार, शाहबुद्दीन नामक व्यक्तिको घरमा भएको बमबारीमा उनका परिवारका महिला र बालबालिकासहित करिब २० जनाको ज्यान गएको छ।
तालिबानले यस आक्रमणलाई अफगानिस्तानको क्षेत्रीय अखण्डताको उल्लङ्घन र अन्तर्राष्ट्रिय कानुनको विपरीत कार्य भन्दै कडा शब्दमा निन्दा गरेको छ।
यसैबीच, पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले भने, उनीहरूले प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट–खोरासान (आईएस–के) का अखडाहरूमा ‘गुप्तचरमा आधारित चयनात्मक आक्रमण’ गरेको दाबी गरेका छन्। पाकिस्तानले यसै महिनाको सुरुवातमा राजधानी इस्लामावादस्थित शिया मस्जिद र खैबर पख्तुनख्वा प्रान्तमा भएका आत्मघाती विष्फोटमा अफगानिस्तानमा रहेका आतङ्ककारी समूहहरूको संलग्नताको ‘ठोस प्रमाण’ रहेको उल्लेख गरेको छ।
तालिबानले भने, पाकिस्तानी सेनाको यो कार्य आफ्नो सुरक्षा र गुप्तचर निकायको असफलता लुकाउने प्रयास हो भनेर टिप्पणी गरेको छ र उपयुक्त समयमा ‘उचित जवाफ’ दिने चेतावनी दिएको छ।
विशेषज्ञहरूले नागरिक र धार्मिक संस्थामाथिको आक्रमणले दुई छिमेकी मुलुकबीचको सम्बन्ध अझै तिक्त हुने र गत अक्टोबरमा भएको कमजोर युद्धविरामको अन्त्य भएको सङ्केत भएको विश्लेषण गरेका छन्। सन् २०२१ मा तालिबान सत्ता नियन्त्रणमा आएपछि सीमा क्षेत्रमा पटक–पटक हिंसात्मक झडप भइरहेका छन्। केही दिनअघि साउदी अरबको मध्यस्थतामा अफगानिस्तानले नियन्त्रणमा लिएका तीन जना पाकिस्तानी सैनिकलाई रिहा गरेको थियो।
करिब १,६०० माइल लामो पहाडी सीमा जोडिएका यी दुई मुलुकबीच बढ्दो सैन्य तनावले दक्षिण एसियाको सुरक्षा अवस्थालाई चुनौतीपूर्ण बनाएको छ।
