कैलाली — सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै उच्च रहेको छ। स्वास्थ्य निर्देशनालय दिपायल स्वास्थ्य निर्देशनालय का कीटजन्य रोग अधिकृत हेमराज जोशी का अनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार ६ सय ८३ पुगेको छ।
आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ३ सय ४९ जनामा डेङ्गु पुष्टि भएको थियो भने २०८१/८२ मा सङ्ख्या ३ हजार ३ सय १६ पुगेको थियो। चालु आर्थिक वर्षमा हालसम्म १ हजार १८ जना प्रभावित भइसकेका छन्। विशेषगरी तराईका जिल्लाहरूमा सङ्क्रमण बढी देखिएको छ।
निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुर सबैभन्दा बढी प्रभावित जिल्ला हुन्। पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण पहाडी जिल्लाहरूमा समेत डेङ्गुका बिरामी फेला पर्न थालेका छन्। यो रोग 'एडिस एजिप्टी' जातको लामखुट्टेको टोकाइबाट सर्छ।
डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियान जारी राखेका छन्। तर नागरिकस्तरमा घर वरपर पानी जम्न नदिने र व्यक्तिगत सुरक्षा उपाय अपनाउनमा कमी रहँदा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन।
स्वास्थ्यकर्मीहरूले ज्वरो, जोर्नी दुखाइ र टाउको दुख्ने लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन सबैमा आग्रह गरेका छन्।
