खोटाङ — १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। आरोपी शिक्षक दिक्तेल इङ्लिस बोर्डिङ स्कुल का शिक्षक हुन् र सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का बासिन्दा रहेका छन्।
प्रहरीका अनुसार फागुन ९ गते गृहकार्य सिकाइदिने बहानामा शिक्षकले छात्रालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लागेको छ। पीडित परिवारका अनुसार शिक्षकले बालिकालाई करिब तीन घण्टासम्म कोठामा थुनेर राखेका थिए।
बालिकाले कोठाबाट रुँदै घर पुगेपछि मात्रै अभिभावकले घटनाबारे थाहा पाए। त्यसपछि बालिकाका बुवा र काकाले शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।
बालिकाको स्वास्थ्य परीक्षणपछि राति ११ बजे जिल्ला प्रहरी कार्यालयमा शिक्षकविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरिएको छ।
पीडित परिवारका अनुसार शिक्षकले गत मंसिरमा आयोजना गरिएको शैक्षिक भ्रमणपछिदेखि नै छात्रालाई “सिकाउने बहाना” बनाएर बोलाउने र अश्लील गतिविधि गर्ने गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
