महानगर यातायात ले आफ्नो बस सेवा काठमाडौं उपत्यकाबाहिर विस्तार गरेको छ। कम्पनीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पोखरा, चितवन जिल्ला र भैरहवा मा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरू गरेको जनाएको छ।
कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यात्रुको मागअनुसार सवारी सङ्ख्या क्रमशः बढाउँदै लैजाने र अन्य शहरमा समेत सेवा विस्तार गर्ने योजना रहेको बताए। उनले काठमाडौंलाई देशका प्रमुख शहरसँग सहज रूपमा जोड्ने लक्ष्यसहित ठूला विद्युतीय बस सञ्चालनको तयारी भइरहेको जानकारी दिए।
त्यसैगरी, निकट भविष्यमा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने योजना पनि रहेको उनले बताए।
पछिल्लो १० वर्षदेखि काठमाडौंमा यातायात सेवा दिँदै आएको कम्पनीले यसअघि १०१ वटा बसमार्फत सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीका बसहरू काठमाडौंको चक्रपथ क्षेत्र तथा थानकोटदेखि धुलिखेलसम्म सञ्चालन हुँदै आएका छन्।
