रुपन्देही — प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता, २०८२ बमोजिम सार्वजनिक सूचना जारी गरेको छ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य तथा प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद खनालद्वारा जारी सूचनामा राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिहरूलाई आचारसंहिता पूर्ण रूपमा पालन गर्न निर्देशन दिइएको छ।
सूचनाअनुसार निर्वाचन आचारसंहिता, २०८२ ले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला तथा अन्य प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्दा पालना गर्नुपर्ने २५ बुँदे आचरण तोकेको छ। राजनीतिक दल वा उम्मेदवारले प्रचारप्रसारका क्रममा सभ्य र अनुशासित तरिकाले कार्यक्रम गर्नुपर्नेछ। कार्यक्रम गर्दा कसैको घरआसपास गई विरोध वा प्रदर्शन गर्न नपाइने तथा मिति, समय, मार्ग र स्थानबारे कम्तीमा २४ घण्टाअगावै स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ। साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिको भावना, इज्जत, चरित्र वा प्रतिष्ठामा आँच आउने खालका गतिविधि गर्न नपाइने स्पष्ट पारिएको छ।
घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको समूह, बाजागाजा वा झाँकीसहित जान बन्देज गरिएको छ। कुनै पनि धर्मका नाममा प्रचारप्रसार गर्न वा साम्प्रदायिक विद्वेष फैलाउने गतिविधि गर्न निषेध गरिएको छ। जुलुस वा सभामा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्न पाइने तर अन्य प्रचारप्रसार सामग्रीका रूपमा राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने व्यवस्था छ।
सवारी साधन प्रयोगका सम्बन्धमा उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर सम्बन्धित निर्वाचन क्षेत्रमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा विद्युतीय वा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न बन्देज लगाइएको छ।
हेलिकप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलले आयोगले निर्धारण गरेको खर्च सीमाभित्र रही समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीका उम्मेदवारको सङ्ख्याका आधारमा गर्नुपर्ने व्यवस्था छ।
निर्वाचन खर्च व्यवस्थापनका लागि दल वा उम्मेदवारले बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली जिम्मेवार पदाधिकारीमार्फत सोही खाताबाट मात्र खर्च गर्नुपर्नेछ। रु २५ हजारभन्दा बढी आर्थिक सहयोग बैंकमार्फत मात्र लिनुपर्ने तथा उक्त रकमको रसिद वा भरपाई दिई सम्बन्धित खातामा जम्मा गर्नुपर्ने अनिवार्य गरिएको छ।
सञ्चारमाध्यम प्रयोगसम्बन्धी मापदण्डसमेत तोकिएको छ। टेलिभिजन, रेडियो, एफएम तथा अनलाइन माध्यमबाट प्रचारप्रसार गर्दा सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपाल मा सूचीकृत सञ्चारमाध्यममार्फत मात्र प्रचारप्रसार गर्न पाइने उल्लेख गरिएको छ।
अनुगमन समितिका अनुसार आचारसंहिता उल्लङ्घन गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रु एक लाखसम्म जरिवाना वा उम्मेदवारी रद्द हुनसक्ने चेतावनी दिइएको छ।
समितिले आचारसंहिता पूर्ण रूपमा पालना गरी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई सफल, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, मतदाता, आमनागरिक तथा सञ्चारकर्मीलाई सहयोग गर्न अनुरोध गरेको छ।
आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृतको कार्यालय, नजिकको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल वा निर्वाचन आयोग समक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट दिन सकिने व्यवस्था मिलाइएको जनाइएको छ।
अनुगमन अधिकृत आचार्यका अनुसार स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सबैको साझा जिम्मेवारी भएकाले आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको छ।
