भरतपुर महानगरपालिका अन्तर्गत पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट निर्धारण, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ व्यवस्थापन, टिकट काउन्टरको सुव्यवस्था तथा सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गरेको हो। यी निर्णयहरू आजदेखि कार्यान्वयनमा ल्याइएको जनाइएको छ।
निर्णयअनुसार पूर्वी जिल्लाबाट काठमाडौँ तथा पोखरा जाने यात्रुवाहक बस, मिनीबस र माइक्रोबसले अनिवार्य रूपमा केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गर्नुपर्नेछ। त्यसपछि केन्द्रीय बसपार्क चोक हुँदै बाइपास सडक प्रयोग गरी आँपटारी चोकबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ।
पूर्वी जिल्लाबाट पश्चिमतर्फ जाने सवारीले पनि केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी चौबिसकोठी, लायन्सचोक हुँदै पुल्चोकबाट बाहिरिनुपर्नेछ।
त्यसैगरी, पश्चिम क्षेत्रबाट पूर्व तथा काठमाडौँतर्फ जाने यात्रुवाहक सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै गन्तव्यतर्फ जानुपर्नेछ। बागलुङ, पोखरा तथा काठमाडौँबाट पूर्व वा पश्चिमतर्फ जाने सवारीले आँपटारीबाट बाइपास सडक प्रयोग गरी केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरेर मात्रै गन्तव्यतर्फ जानुपर्ने व्यवस्था गरिएको छ।
स्थानीय प्रशासनका अनुसार नयाँ व्यवस्थाले बजार क्षेत्रमा हुने सवारी चाप घटाउने, ट्राफिक व्यवस्थापन सहज बनाउने तथा अव्यवस्थित पार्किङ नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
