राजेन्द्र लिङदेन ले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका लिङदेनले बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भोट अत्यन्तै महत्वपूर्ण शक्ति भएको बताए। उनले उक्त शक्ति अरूलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने धारणा राखे।
लिङदेनले विगतमा मतदाताहरू झुटा आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, माछामासु वा मादक पदार्थको प्रलोभनमा परेर मतदान गर्ने प्रवृत्ति रहेको टिप्पणी गरे। सत्तामा रहेका नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना कमजोरी सुधार नगरे देश दुर्घटनातर्फ जाने उनको चेतावनी थियो।
उनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारी आवश्यक रहेको औंल्याउँदै निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने बताए। साथै, राप्रपालाई संसदमा बलियो शक्तिका रूपमा स्थापित गर्न मतदातासँग सहयोग मागे। राप्रपासँग देश विकासका लागि स्पष्ट योजना रहेको दाबी गर्दै उनले भ्रष्टाचारमुक्त ढंगले काम गर्न सके ५–६ वर्षमै देशको मुहार फेरिन सक्ने विश्वास व्यक्त गरे।
अध्यक्ष लिङदेनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरे। साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को भ्रष्टाचार प्रकरणको छानबिन प्रक्रियामा आफ्नो भूमिका रहेको पनि स्मरण गराए।
उनले नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का समर्थकहरूलाई समेत एकपटक राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गरे। प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ राप्रपालाई मतदान गरी देश बचाउने अभियानमा सहभागी हुन उनले सबैमा अपिल गरे।
