काठमाडौँ – रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायबीचको विवादलाई उत्तेजित गरेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर–६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले रातोपाटीलाई जानकारी दिँदै भने, “अहिलेसम्म २३ जनालाई नियन्त्रणमा लिइएको छ, जसमा कर्फ्यू उल्लङ्घन गरेको आरोपमा थप २१ जना छन्। पक्राउ परेकामध्ये १५ वर्षीय मोहम्मद कैफ पनि छन्।”
शनिबार मध्यान्ह १ बजेबाट गौरको पूर्व मडबलवा गेट, पश्चिम लालवकैया बाँध, उत्तर बम नहर र दक्षिण गौर भन्सार कार्यालय क्षेत्रमा कर्फ्यू जारी छ। डीएसपी बस्यालका अनुसार अहिले जिल्ला प्रशासन कार्यालयमा विवादबारे सर्वपक्षीय छलफल भइरहेको छ।
घटना तब सुरु भएको थियो जब हिन्दु समुदायका व्यक्ति मस्जिद नजिक पुगे। मुस्लिम समुदायले आरोप लगाएको छ कि रमजानको समयमा नमाज पढ्दा डिजे बजाएर उनीहरूले अवरोध गरे। झडपमा गौरमा तीन वटा गाडी र दुई वटा मोटरसाइकलमा आगजनी भएको थियो।
