उत्तरी थाइल्यान्डस्थित एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमणका कारण कम्तीमा ७२ वटा बाघको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
चियाङ माई प्रान्तीय पशुधन कार्यालयले विज्ञप्ति जारी गर्दै मृत बाघमा गरिएको परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरस र श्वास–प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरियाको सङ्क्रमण पुष्टि भएको जनाएको छ।
राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनमुङक्लानोनका अनुसार बाघमा देखिने स्वास्थ्य समस्या अन्य जनावरको तुलनामा ढिला पहिचान हुने भएकाले परीक्षण गर्दा धेरै ढिला भइसकेको थियो र उनीहरूलाई बचाउन सम्भव भएन।
यस घटनासम्बन्धी विवरण सार्वजनिक गर्दै पशु अधिकार संगठन People for the Ethical Treatment of Animals (पेटा) एसियालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले बाघहरू समयमै परीक्षण र उचित उपचार नपाउँदा पीडा र त्रासबीच मरेको जनाएको छ।
अधिकारीहरूले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।
