नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने विषयमा आशंका व्यक्त गरेको छ।
शनिबार पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले देशको वर्तमान अवस्था र निर्वाचन गतिविधि सञ्चालनको तरिकाले चिन्ता उत्पन्न गरेको बताए। “निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा हुन्छ कि हुँदैन भन्ने विषयमा हामी सबै चिन्तित छौँ,” उनले भने।
च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। शाहीले विभिन्न जिल्लामा दलहरूको झन्डा र चुनाव चिह्न जलाउने तथा अशान्ति फैलाउने गतिविधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव भाँड्न खोजिरहेको संकेत दिएको आरोप लगाए।
त्यस्तै, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको तस्बिर अंकित टिसर्ट होलीको अवसरमा वितरण गरिएको विषयमा पनि एमालेले आपत्ति जनाएको छ। यसबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको पार्टीले जनाएको छ।
