अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमा गत जनवरीमा भएको प्रदर्शनका क्रममा ३२ हजार मानिस मारिएको दाबी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले पहिलो पटक इरानी प्रदर्शनमा भएको हताहतीको यति ठूलो संख्या सार्वजनिक गरेका हुन्।
ट्रम्पले इरानको वर्तमान अवस्थालाई दुःखद बताउँदै त्यहाँका जनता आफ्ना नेताहरूभन्दा फरक र शान्तिप्रिय रहेको टिप्पणी गरे। उनले इरानले अमेरिकासँग उपयुक्त सम्झौता गर्नुपर्नेमा जोड दिँदै छोटो समयमै हजारौँ नागरिकले ज्यान गुमाएको दाबी गरे।
उनले इरानमा हुन लागेको भनिएको सामूहिक मृत्युदण्ड आफ्नो सन्देशपछि रोकिएको पनि बताएका छन्। ट्रम्पका अनुसार इरानले ८३७ जनालाई फाँसी दिन लागेको जानकारी पाएपछि आफूले चेतावनी सन्देश पठाएका थिए। “यदि एक जनालाई मात्र पनि फाँसी दिइयो भने तत्काल निशाना बनाइनेछ,” भन्ने सन्देशपछि फाँसी रोकिएको उनको दाबी छ।
सम्भावित सैन्य कारबाहीबारे सोधिएको प्रश्नमा ट्रम्पले पूर्ण युद्धभन्दा ‘सीमित सैन्य हमला’ को विकल्प खुला रहेको संकेत दिए।
इरानले भने ट्रम्पको दाबी र उल्लेखित संख्याबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। पछिल्लो समय अमेरिका र इरानबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ।
