बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ता गाउँका २२ वर्षीय इन्तजार (मोहम्मद अरबी खाँ) को हत्यामा संलग्न आरोपित एक वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोही क्षेत्रका ५३ वर्षीय अफजल पठानलाई नेपाल–भारत सीमा क्षेत्र जमुनाहाबाट पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक दिपाक पातलीका अनुसार उनलाई फागुन ५ गते विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो।
घटनापछि फरार रहेका पठान भारतमा लुकीछिपी बस्दै आएको र नेपाल फर्किन लागेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खाँको २०८० चैत १८ गते घरदेखि करिब पाँच सय मिटर पूर्व गंगारामपूर्वादेखि तेलियनपुर जाने बाटोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। घटनाको भोलिपल्ट रातिदेखि उनी घरपरिवारसँग सम्पर्कविहीन भएका थिए।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।
