रौतहटको गौरमा कर्फ्यू जारी रहे पनि आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गर्दै नेपाली सेना परिचालन गरेको भए पनि भित्री बस्तीहरूमा तोडफोड र आगजनीका घटना भइरहेका छन्।
गौर नगरपालिका–४ मचकुटिया टोलमा शनिबार एक स्कुटरमा आगजनी गरिएको छ। हालसम्म प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी गरेको प्रहरीले जनाएको छ।
सेना परिचालनपछि गौरको मुख्य सडक क्षेत्र शान्त देखिए पनि भित्री भागमा अवस्था अझै तनावग्रस्त रहेको छ।
गौर नगरपालिका–६ सनगढा गाउँमा दुई समुदायबीच भएको झडप उग्र बन्दा स्थिति नियन्त्रणबाहिर गएको हो। मुस्लिम समुदाय मस्जिदमा प्रार्थनामा रहेका बेला हिन्दु समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ।
सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन थप निगरानी र गस्ती बढाएको जनाएको छ।
