प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको सन्दर्भमा उत्पन्न हुन सक्ने सम्भावित घटना र चुनौतीलाई ध्यानमा राख्दै समयमै पूर्वतयारी गर्नुपर्ने बताएकी छन्।
रुपन्देहीको बुटवलमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली सेनाका प्रतिनिधिसँग भएको छलफलमा उनले चुनाव बहिष्कारका नाममा केही समूहले चन्दा असुली गर्ने तथा आफ्नो अस्तित्व देखाउने प्रयास गर्न सक्ने भन्दै सुरक्षा निकायलाई सचेत रहन निर्देशन दिइन्।
आउँदो हप्ता फागुपूर्णिमा पर्ने भएकाले सुरक्षा चुनौती थपिन सक्ने र रुकुम पूर्वलगायत हिमाली जिल्लामा हिमपातको जोखिम रहने उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिन्।
तराईका केही जिल्लामा दलहरूबीच झण्डा जलाउने तथा उक्साउने गतिविधि बढेको जनाउँदै प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उच्च सतर्कता अपनाउन स्पष्ट निर्देशन दिइन्। साथै उनले सबै पक्षलाई संयम अपनाउन र लोकतान्त्रिक संस्कारको पालना गर्न आह्वान गरिन्।
