काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासा ले आउँदो मार्च ६ मा चार अन्तरिक्षयात्रीसहितको आर्टेमिस–२ मिशन प्रक्षेपण गर्ने घोषणा गरेको छ।
सन् १९७२ मा अपोलो–१७ अन्तिम पटक मानवसहित चन्द्रमाको सतहमा पुगेको थियो। त्यसयता पहिलो पटक मानवयुक्त अन्तरिक्षयान चन्द्रमाको परिक्रमा गर्ने यस मिशनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा राखिएको छ।
अपोलो कार्यक्रम सन् १९७२ मा समाप्त भएपछिका दशकहरूमा चन्द्रमाको अन्वेषण स्थगित रह्यो। शीतयुद्धपश्चात अन्तरिक्ष दौडमा राजनीतिक तथा आर्थिक प्राथमिकता घट्दा अमेरिका आफ्नो ध्यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र मङ्गल ग्रह अन्वेषणतर्फ केन्द्रित रह्यो। चन्द्र अभियानको उच्च लागत र प्राविधिक जटिलताले पनि लामो समयसम्म मानवयुक्त मिशन सम्भव हुन सकेन।
यस १० दिने मिशनमा अमेरिकी अन्तरिक्षयात्री रिड वाइजम्यान, भिक्टर ग्लोबर, क्रिस्टिना कोच र क्यानाडियन जेरेमी ह्यान्सन चन्द्रमाको परिक्रमा गरी पृथ्वी फर्किनेछन्। यो मानव इतिहासकै सबैभन्दा टाढाको अन्तरिक्ष यात्रा हुनेछ। नासाको ९८ मिटर अग्लो स्पेस लन्च सिस्टम (SLS) रकेट मार्फत यान प्रक्षेपण हुने र पृथ्वीको कक्षामा एक दिन बिताएपछि चन्द्रमातर्फ प्रस्थान गर्नेछ। अन्ततः मिशनको अवतरण प्रशान्त महासागरमा हुनेछ।
मिशन सफल भएमा नासाले सन् २०२८ सम्म आर्टेमिस–३ मार्फत मानव चन्द्र सतहमा उतार्ने लक्ष्य राखेको छ। तर विशेषज्ञहरूले यस समयसीमा अत्यन्त महत्त्वाकाङ्क्षी रहेको बताउँछन्। आर्टेमिस–३ का लागि एलन मस्कको स्पेसएक्स कम्पनीले स्टारशिप रकेट मार्फत चन्द्र अवतरण यान बनाउने सम्झौता गरेको छ। विकास ढिलाइ भएपछि नासाले जेफ बेजोसको ब्लु ओरिजिन कम्पनीलाई वैकल्पिक योजना तयार गर्न लगाएको छ।
यसैबीच, अमेरिका र चीनबीच चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पुग्ने प्रतिस्पर्धा तीव्र बन्दैछ। चीनले सन् २०३० सम्म आफ्ना अन्तरिक्षयात्री चन्द्रमामा उतार्ने लक्ष्य राखेको छ। दुवै देशले चन्द्रको दक्षिणी ध्रुवमा आधार शिविर स्थापना गर्ने योजना बनाएका छन्, जहाँ पानीको हिमको उपस्थिति रहेको अनुमान गरिएको छ।
