सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा शनिबार नेपाली कांग्रेसको चुनावी कार्यक्रममा झडप भएको छ। उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका बेला बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवासँग जम्काभेट हुँदा विवाद बढेको थियो।
स्थानीय प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरवितर गर्न लाठीचार्ज गरेको जनाएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक केशव थेवेका अनुसार, कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकर्ता र रास्वपाका कार्यकर्तामाथि नियन्त्रणका लागि लाठीचार्ज आवश्यक परेको थियो।
हाल स्थिति सामान्य भएको र घटनापछि कुनै ठूलो चोटपटक नभएको प्रहरीले जनाएको छ।
