घनश्याम भुसाल ले निर्वाचन अपरिहार्य भएको बताएका छन्। भुसालका अनुसार यो निर्वाचन नेपाली जनताको इच्छा अनुसार नभई संवैधानिक र लोकतान्त्रिक प्रक्रियामा असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको हो।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भुसालले मुलुकले सामना गरेको विध्वंसकारी घटनाबाट शिक्षा लिनुपर्ने बताए। उनले राजनीतिक दलहरूको कमजोरी उजागर भए पनि त्यसलाई नजरअन्दाज गर्दै निर्वाचनमा जाने तयारीले समस्या मात्र लुकाउने उल्लेख गरे।
भुसालले गौरीबहादुर कार्की नेतृत्वको आयोग जस्ता प्रक्रियाले यथार्थ उजागर नगर्ने भन्दै, मुलुक संकटपूर्ण भू–राजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताए। उनले चेतावनी दिए कि निर्वाचनपछि पनि पुराना प्रवृत्तिहरू दोहोरिने, विकासले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने र सुशासन सुनिश्चित नहुने सम्भावना रहेको छ।
उनी राजनीतिक प्रक्रिया स्थानीयकरण गर्न, पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो अपनाउनुपर्नेमा जोड दिए। भुसालले मुलुकको मुख्य समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलियातन्त्र रहेको बताउँदै बौद्धिक वर्ग र राजनीतिकर्मीहरूलाई निकास खोज्न आह्वान गरे। उनले निर्वाचनलाई अवसर मान्दा पनि यसले मात्र संकटको समाधान नदिने र गहिरो पुनर्विचार आवश्यक रहेको बताए।
