शंकर पोखरेल ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँको नाममा समाजलाई गलत दिशातर्फ डोर्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जारी भिडियो सन्देशमा पोखरेलले यस्तो चेतावनी दिएका हुन्, यद्यपि भिडियोमा रास्वपाको नाम स्पष्ट रूपमा उच्चारण नगरेको जनाइएको छ।
पोखरेलले भने, “आज मुलुकलाई विध्वंसको बाटोमा लैजान खोज्नेहरू, भू–राजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोज्नेहरू, नयाँको नाममा समाजलाई गलत दिशातर्फ डोर्याउने कोसिस गरिरहेका छन्।” उनले निर्वाचनमा सहभागी भएर यस प्रयासलाई असफल बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्।
महासचिव पोखरेलले राष्ट्रको सुरक्षा, संविधानको रक्षा, लोकतन्त्रको जीवन्तता र जनतालाई अधिकार सम्पन्न बनाउने उद्देश्यका साथ निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन्। उनले जनप्रतिनिधि नभएर आफैं निर्णयक तहमा पुगेर दाङको विकास र समृद्धिको नेतृत्व गर्न सक्ने व्यक्ति भएको उल्लेख गर्दै मतदातालाई मतदानमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पोखरेलसँग नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य, रास्वपाका विपिनकुमार आचार्यसहित २३ उम्मेदवारहरू प्रतिष्पर्धामा छन्।
